सुर्खेत — जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गाडीको छतमा राखेर यात्रा गराइएका यात्रु सम्बन्धी उजुरीमाथि कारबाही सम्पन्न गरेको छ। अनलाइन गुनासो तथा उजुरीका आधारमा जोखिमपूर्ण रूपमा यात्रु ओसारपसार गर्ने सवारीसाधनमाथि आवश्यक कारबाही गरिएको ट्राफिक कार्यालयले जनाएको छ।
यस विषयमा सुनौलो आवाज मिडिया ले भिडियोसहितको समाचार निरन्तर रूपमा सार्वजनिक गर्दै आएको थियो। गाडीको छतमा यात्रु राखेर यात्रा गराउने जस्तो खतरनाक गतिविधिलाई भिडियोमार्फत उजागर गरेपछि सम्बन्धित निकायले चासो दिँदै कारबाही अघि बढाएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको यस कदमलाई स्थानीयले सकारात्मक रूपमा लिँदै प्रशंसा गरेका छन्। यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यस्तो कारबाहीलाई प्रभावकारी कदमको रूपमा हेरिएको छ।
ट्राफिक प्रहरीले यस्ता गतिविधि पुनः नदोहोरोस् भन्ने उद्देश्यले नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ भने नियम उल्लङ्घन गर्ने जो–कोहीलाई कानुन अनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ।





