सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते
सल्यानको वनगाड कुपिण्डे नगरपालिका–११, गरा नजिकै बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
कार्तिक १३ गते राति करिब ९ बजे निगालचुलामा लागेको स्थानीय मेलाबाट गुर्भाकोटको मालारानीतर्फ फर्किने क्रममा रा १ च १७२३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका १२ जनालाई वनगाड कुपिण्डे नगर अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा गुर्भाकोट–२, सुर्खेतका २५ वर्षीय पप्पु डाँगीको मृत्यु भएको छ।
गम्भीर घाइते ८ जनालाई थप उपचारका लागि नेपालगञ्ज, सुर्खेत तथा भारतको लखनउ पठाइएको छ भने सामान्य घाइते ३ जनाको उपचारपछि घर फर्काइएको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै नगर प्रमुख कर्णबहादुर बुढाथोकीको पहलमा नगरपालिकाका दुई एम्बुलेन्स र एउटा गाडी परिचालन गरी घाइतेहरूको उद्धार गरिएको थियो।
स्रोत: वनगाड कुपिण्डे नगर अस्पताल तथा इलाका प्रहरी कार्यालय, देवस्थल





