बाँके प्रहरीले अबैध रूपमा ल्याइएको ब्रोईलर कुखुराको चल्लासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सोमबार नेपालगञ्ज उपमहानगरपालिका–२३, भज्जीपुरवाबाट भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लाको रुपैडिहा बस्ने २५ वर्षीय शिव मनिहार (उर्फ सलमान) लाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनको साथबाट २० कार्टुनमा रहेका करिब २,००० वटा ब्रोईलर कुखुराका चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको चल्लाको अनुमानित मूल्य दुई लाख रुपैयाँ बराबर रहेको छ।
पक्राउ परेका मनिहारलाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको प्रहरीले जनाएको छ।





