नेपालगञ्ज । नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी, भरपर्दो र सुदृढ बनाउने उद्देश्यले सशस्त्र प्रहरी बलले बाँके–बर्दिया सीमावर्ती क्षेत्रमा सातदिने विशेष सीमा गस्ती सञ्चालन गरी सफलतापूर्वक सम्पन्न गरिने भएको छ।
खजुरा गाउँपालिका–१ बेलडाडास्थित मानखोलामा रहेको सहायक सीमा स्तम्भ नं. ६५६/१ (३९) देखि राप्ती सोनारी गाउँपालिका–१ भोवा नाकास्थित सहायक सीमा स्तम्भ नं. ६२५/१ (७८) सम्मको सीमा क्षेत्रमा २०८३ जेठ १९ गतेदेखि २५ गतेसम्म विशेष गस्ती सञ्चालन गरिएको छ । गस्ती अभियानमा २१ जना सशस्त्र प्रहरी कर्मचारी परिचालन भएका छन।
गस्तीको सुरुवात २०८३ जेठ १९ गते मानखोलाबाट सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण थारुको कमान्डमा सुरु गरिएको छ। त्यसपछि २०८३ जेठ २० गतेदेखि सीमा सुरक्षा गुल्म जमुनाहाबाट सशस्त्र प्रहरी निरीक्षक डम्बर बहादुर साउदले कमान्ड सम्हाल्ने छन भने।
यस्तै, २०८३ जेठ २१ गते बिओपी खडैचाबाट सशस्त्र प्रहरी निरीक्षक वीरचन्द्र भट्टको नेतृत्वमा गस्तीलाई निरन्तरता दिने छन भने २०८३ जेठ २३ गते बिओपी गंगापुरबाट सशस्त्र प्रहरी निरीक्षक अमृतबहादुर दुलालले कमान्ड सम्हाल्ने छन ।
गस्ती अभियानको अन्तिम चरणमा २०८३ जेठ २३ गतेदेखि २५ गतेसम्म बिओपी कट्कुइयाबाट सशस्त्र प्रहरी निरीक्षक झक्कु प्रसाद शर्माको नेतृत्वमा टोली परिचालन भई अभियान सफलतापूर्वक सम्पन्न हुने जनाइएको छ।
सात दिनसम्म सञ्चालन गरिएको उक्त गस्तीका क्रममा सीमा क्षेत्रको सुरक्षा अवस्थाको अनुगमन, सीमास्तम्भहरूको निरीक्षण, अवैध गतिविधिको निगरानी तथा स्थानीय नागरिकसँग समन्वय र अन्तरक्रिया गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र कानुनी व्यवस्थालाई थप मजबुत बनाउन सशस्त्र प्रहरी बलले नियमित रूपमा यस्ता गस्ती अभियान सञ्चालन गर्दै आएको छ। सीमामा खटिएका सुरक्षाकर्मीको सक्रियता र समर्पणले स्थानीय नागरिकमा सुरक्षा अनुभूति बढ्नुका साथै सीमा सुरक्षाप्रति राज्यको प्रतिबद्धता अझ बलियो बनेको देखिएको छ।
सीमा सुरक्षामा सशस्त्र प्रहरीको निरन्तर सक्रियताले राष्ट्रको सुरक्षा चक्रलाई थप मजबुत बनाएको स्थानीयवासीहरूको भनाइ छ।
मानखोलादेखि भोवा नाकासम्म सशस्त्र प्रहरीको सातदिने सीमा गस्ती, २१ सुरक्षाकर्मी परिचालित





