वनगाड कुपिण्डे (सल्यान), फागुन १०– वनगाड कुपिण्डे नगरपालिका-७ स्थित श्री कृष्ण माध्यमिक विद्यालयमा ११.५२ लाख रुपैयाँ लागतमा निर्माण भएको नयाँ शौचालय केही महिनामै बिग्रन थालेपछि विद्यार्थी र स्थानीय बासिन्दा समस्यामा परेका छन्।
स्वच्छता र स्वास्थ्य सुधार गर्ने उद्देश्यले निर्माण सम्पन्न गरिएको शौचालयको ट्याङ्की फुटेर दिशा-पिसाब बाहिर निस्किएपछि विद्यालय परिसर नै दुर्गन्धित र अस्वास्थ्यकर बन्दै गएको छ। विद्यार्थीहरूलाई दुर्गन्धका कारण पठनपाठनमा समस्या भइरहेको छ भने स्थानीय बासिन्दाहरू पनि फोहोरका कारण हैरान भएका छन्।
यस अवस्थाले फोहोरजन्य रोगहरू फैलिन सक्ने खतरा बढाएको छ। लाखौं रुपैयाँ खर्चेर बनेको शौचालय केही महिनामै प्रयोग गर्न नमिल्ने अवस्थामा पुग्नु योजनाको प्रभावकारिता, अनुगमन र निर्माण गुणस्तरमाथि गम्भीर प्रश्न खडा भएको छ।
स्थानीय निकाय तथा सरोकारवाला निकायले यथाशीघ्र समस्याको समाधान नगरे विद्यार्थीहरूको स्वास्थ्य जोखिममा पर्ने मात्र होइन, लाखौंको लगानी पनि व्यर्थ जानेछ। स्थानीयवासीहरूका अनुसार सम्बन्धित निकायले तत्काल ध्यान नदिए स्थानीय स्तरबाट कडा दबाब दिने तयारी भइरहेको छ।