कोहलपुर, २०८१ फागुन १३– ईलाका प्रहरी कार्यालय कोहलपुरले अवैध रूपमा ल्याइएका बोइलर कुखुराका चल्लाहरू बरामद गरी नष्ट गरेको छ। अनुसन्धानका क्रममा ती चल्लाहरूलाई “लेयर्स” (अण्डा पार्ने जात) को चल्ला भन्दै रङ लगाएर बिक्री गर्ने कार्य भइरहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, अवैध रूपमा भित्र्याइएका कुखुराका चल्लाहरू उपभोक्ताहरूलाई भ्रममा पार्दै बिक्री गरिँदै आएको थियो। यस कार्यले उपभोक्ताहरूलाई ठगी गरेको मात्र नभई पशुपंक्षी स्वास्थ्यमा समेत असर पुर्याउने खतरा रहेकाले प्रहरीले तत्काल चल्लाहरू नष्ट गरेको हो।
प्रहरीले अवैध कुखुरा व्यापार नियन्त्रण गर्न अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ। साथै, गलत सूचना दिएर उपभोक्ताहरूलाई ठगी गर्नेहरूमाथि कानुनी कारबाही अघि बढाइने जनाएको छ।





