दाङ तुलसीपुर ६ निवासी २८ वर्षीय निरज चौधरीको हत्याको मुख्य अभियुक्त महावीर चौधरी फरार रहेका छन् । ५१ वर्षीय महाविर पनि तुलसीपुर ६ निवासी नै हुन्। चौधरीको आइतबार बिहान ११ बजे राजापुर नगरपालिका ४ बर्दिया स्थित‘हमार थारु घर एण्ड रेष्टुरेन्ट’मा गोली प्रहार गरि हत्या गरिएको थियो । त्यसको मुख्य अभियुक्त महाविर नै रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश कार्कीले बताए । त्यो रेष्टुरेन्ट राजापुर नगरपालिका ४ बर्दिया निवासी रामकुमारी थारुको नाममा रहेपनि महाविरसहितका व्यक्तिको सेयर लगानी रहेको छ । रामकुमारी महाविरकी साली नाता पर्छिन् ।
निरजमाथि गोली प्रहारपश्चात उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा लगिएको थियो । यद्यपी नजिकै बर्दिया अस्पताल पनि थियो । निरजलाई नेपालगञ्ज उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि रामकुमारीसहित केहीलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले बताएको छ । हत्याका आरोपी महाविर भने निरजलाई नर्सिङ लैजानका लागि रामकुमारीलाई अह्राएर फरार रहेका थिए । उनको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक कार्कीले बताए ।
निरज महाविरका नाती पर्छन् । उनीहरु लामो समय एउटै कोठमा समेत बसेका छन् । उनीहरुबीच लेनदेन रहेको हुन सक्ने अनुमान गरिएको छ । महाविरले अबैद्य बाटो हुँदै अमेरिका पठाउने काम गर्ने गरेको स्रोतको भनाइ छ । उनी प्रायः अमेरिका आवतजावत गरिरहन्छन् । प्रहरीले उनको भिसा,पासपोर्टलगायतका सामाग्री बरामद गरेको छ ।
निरज किन गएका थिए बर्दिया ?
प्रहरीका अनुसार निरज करिब दुई वर्षदेखि बर्दियामै बस्थे । उनले महाविरको सहोदर दाइसमेत रहेका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको जग्गामा खोलिएको पोल्ट्री फर्म रेखदेख गर्ने गर्थे । यसअघि मुख्यमन्त्री चौधरीकी बहिनी विजयाले रेखदेख गर्ने गरेको भएपनि उनले छोडेपछि निरजलाई बर्दिया लगिएको थियो । निरजको हत्या गरिएको रेष्टुरेन्ट पनि पोल्टिफर्मसँगै सरेको थियो ।





