पूर्व शिक्षामन्त्री तथा सांसद शिशिर खनालले शिक्षामन्त्री विद्या भट्टराईलाई प्रधानमन्त्री र अर्थमन्त्रीको असफलता लुकाउन ‘बलिको बोको’ बनाइएको आरोप लगाएका छन्।
शिक्षक आन्दोलनका बेला शिक्षामन्त्रीलाई सहयोग नगरी प्रधानमन्त्री र अर्थ मन्त्रालयले पन्छिन खोजेको भन्दै खनालले असन्तुष्टि जनाएका हुन्। भट्टराईको राजीनामापछि खनालले यस्तो अभिव्यक्ति दिएका हुन्।
उनले शिक्षकको माग शिक्षा मन्त्रालयबाट मात्रै सम्भव नभएको र अर्थ मन्त्रालय तथा प्रधानमन्त्रीको सहयोग आवश्यक भएको बताए।
शिक्षकहरूको आन्दोलन विद्यालय शिक्षा ऐन पारितमा ढिलाइ, पेशागत असुरक्षा, तथा सेवा-सुविधाको अभावसँग जोडिएको छ। उनीहरूले निजामतीसरह तलब, अस्थायी शिक्षकको स्थायीकरण, र संघीय संरचना अनुरूप शिक्षाको व्यवस्थापनको माग गरेका छन्।
आन्दोलन २० दिनदेखि जारी छ र वार्ता असफल हुँदा सडक संघर्षलाई निरन्तरता दिइएको छ, जसले विद्यार्थीको पठनपाठनमा असर पारेको छ।